यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु हुन्: केपी ओली

२४ भाद्र २०८०, आईतवार १७:०४


काठमाडौ, २४ भदौ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय उद्यमीहरुलाई छानीछानी कारबाही गरेको भन्दै आक्रोश व्यक्त गरेका छन ।

आज (आइतबार) एमालेको सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालकलाई अनाहकमा पक्राउ गरेर दुःख दिएको बताएका छन ।

उनले भने, ‘मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ?’ उनले प्रश्न गरे, ‘५ र ६ जनाले किनिसकेको जमिन, उसले त धनीपुर्जा हेर्यो‘, धनीपूर्जा भएको मान्छेसँग किन्यो त ।’

व्यवसायी गुरुङ भागेर कहीँ जाने सम्भावना नभएको भन्दै ओलीले सरकारले राष्ट्रिय पुँजीपतिलाई दुःख दिने हिसाबले मात्र पक्राउ गरेको आरोप लगाए ।

‘भारी बोकेर हिँड्ने, खाली खुट्टा हिँड्ने त्यो गुरुङ यत्रा भाटभटेनी चलाएर पुँजीपति हुने भन्ने आँखाले देख्न सकेन । यो राष्ट्रिय पुँजीपतिलाई खेद्ने कुरा हो’ । उनले यती होल्डिङ्सलाई पनि सरकारले दुःख दिएको बताएका छन ।

उनले भने, ‘यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु हुन् । त्यसकारण उनीहरु खेद्छन्, किनभने त्यो राष्ट्रिय पुँजी हो । सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि, त्यस्तो मान्छे अहिले हवाइजहाज पनि उडाएको छ, पयर्टन पनि चलाएको छ, होटल पनि चलाएको छ, हेलिकप्टर पनि चलाएको छ, गर्न पाइन्छ ?

भारी बोकेर हिँड्ने शेर्पाले उसले कमाएको सम्पत्ति स्वीटजरल्याण्डमा लाँदैन, माल्दिभ्समा लाँदैन, श्रीलंकामा लाँदैन, बंगलादेश लाँदैन, भारत लाँदैन, मुम्बइमा होटल छैन, श्रीलंकामा होटल छैन, यस्तालाई पनि गर्न दिन्छ भनेका भन्यै छन् माओवादीहरु ।’

उनले सरकारको यस्तो रबैयाका विरुद्ध बोल्नेहरुलाई दुख दिने गरेको पनि ओलीले बताए । सरकारले भन्ने गरेको भ्रष्टाचार र अनियमितताविरुद्धको कारबाहीलाई ओलीले दलाल पुँजीपतिको फण्डा र तमासा भएको बताएका छन ।