काठमाडौ, २४ भदौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धिको रक्षाको लागि लाखौं जनता सडकमा उतार्ने बताएका छन ।
आज (आइतबार) समाजवादी मोर्चाले हेटौंडामा आयोजना गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले संघीयता, गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने बताएका छन । उनले भने, ‘ प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने गरिरहेका छन् ।
अपमानित गरिरहेका छन् । प्रहार गरिरहेका छन् । जनयुद्ध, जन आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न समाजवादी मोर्चा बनाएको हो’, उनले भने, ‘अहिले त हामीले कार्यक्रम कोठामा गरिरहेका छौं ।
केहि समयमा प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्छौं ।’कार्यक्रममा समाजको एक तप्कालाई सरकारले चालेको सुशासनको अभियान मन नपरेको उनले जिकिर गरे ।
कुशासनबाट फाइँदा लिइरहेकाहरू सुरुदेखि नै अभियानबाट आत्तिएको उनले बताए । तिनीहरूबाट नै अहिले एक खालको दबाब महशुस भएको उनको बुझाइ छ ।
उनले भने, ‘ सरकारले चालेको सुशासन अभियानबाट आत्तिएकाहरूबाट सुरुदेखि नै एक खालको दबाब महशुस गरिरहेको छु, ‘प्रधानमन्त्रीविरूद्ध अदालतमा मुद्दा दायर भएको छ । अभियानबाट समाजका एक तप्का आतंकित छन् । यो सामान्य कुरा होइन ।’
