हामी बिपीको राजनीतिक चिन्तनको मार्गमा हिँडेका छौं: सभापति देउवा

२४ भाद्र २०८०, आईतवार १२:५८


काठमाडौ,२४ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडेको दाबी गरेका छन ।

आज (आइतबार) बीपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित बिपी साहित्य महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

उनले यहि चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताएका छन । उनले मुलुक बिपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको बताएका छन ।

उनले भने, ‘नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं,’ । उनले तर अझै पनि त्यसको व्यवहारमा जनताले अनुभूति गर्न भने अझै नसकेको र बिपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु केही कमजोरी भएको बताएका छन ।

उनले आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी चिन्तनलाई पनि बीपीले आवश्यक ठान्ने गरेको बताएका छन । उनले निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै अपूर्ण देखेर बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि सारेको बताएका छन ।

उनले भने, ‘ साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्रलाई झिकिदियो भने साम्यवाद हुन्छ ।’