संविधान दिवसको उत्सव मनाउन एमालेको परिपत्र

२१ भाद्र २०८०, बिहीबार १७:२६

काठमाडौ, २१ भदौ– प्रमुख प्रतिपक्षी दल एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ ।

पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीले जानकारी दिएका छन ।

उनले भने, ‘ ‘नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट संविधान बनेको दिनलाई उत्सवका रुपमा मनाउँदैछौं, त्यही अनुसार परिपत्र भएको छ, ।

केन्द्रीय कार्यालयका तर्फबाट पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएर नारायणचौंर काठमाडौंमा संविधान दिवस मनाउने कार्यक्रम तय भएको उनले बताएका छन ।

संविधान जारी भएको दिन ३ असोजलाई उत्सवका रुपमा मनाउन प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गरिसकेको अधिकारीले जानकारी दिएका छन ।

परिपत्रअनुसार जिल्लास्थित पार्क, शहीत स्तम्भ या आन्दोलन र संघर्षलाई स्मरण गराउने सार्वजनिक स्थलमा एमालेले राष्ट्रिय झण्डासहित पदयात्रा गर्नेछ ।

उक्त पदयात्रामा देशभक्तिपूर्ण गीतहरु बजाउने र राष्ट्रिय झण्डासहित सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा राख्न परिपत्र गरिएको छ ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र नेपालको संविधानको पक्षमा विभिन्न सञ्चार माध्यमबाट विचार संम्प्रेषण गर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको छ । यसबाहेक स्थनीय विशेषताअनुसार थप सिर्जनात्मक कार्यक्रम गर्न सकिने पनि परिपत्रमा उल्लेख छ ।