मूल्य वृद्धि विरुद्ध उत्रिएका विद्यार्थी र प्रहरीबीच झडपमा दर्जनौ घाइते

१८ पुष २०७४, मंगलवार १३:३७

पुस १८, काठमाडौं । मंगलबार निर्वाचन आयोग र सरकारले इन्धनमा गरिएको मूल्य वृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भयो ।


अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलासहित दर्जन बढी विद्यार्थी नेता कार्यकर्ता घाइते भए । सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।

विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पसबाहिर प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउन लागेपछि प्रहरीसँग झडप भएको हो। विद्यार्थीहरुले सरकार र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवविरुद्ध नाराबाजी गरेका थिए। प्रहरीले विद्यार्थीले बनाएका प्रधानमन्त्रीको पुत्ला खोसेर लगेको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले केही राउण्ड अश्रुग्यास पनि प्रहार गरेको थियो।

अनेरास्ववियुका महासचिव ऐन महरले निर्वाचन आयोगले समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको र सरकारले जनमत अनुसार नयाँ सरकारको बाटो खोल्नुको साटो पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका जनजीवनमा गम्भीर असर पार्ने काम गरिरहेकाले विरोधमा प्रदर्शन गरेको बताए। उनले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको भन्दै सरकारको आलोचना गरे।