काठमाडौ,२० भदौ– पूर्व प्रधानमन्त्री एव एमालेका अध्यक्ष केपी शर्मा ओलीले यौन शोषण, बाध्यात्मक श्रम, दासता, जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि राज्यको स्तरबाट नीतिगत, कानून र संरचनागत आधार तयार गर्न र सामाजिकस्तरबाट सचेतनागत अभियान सञ्चालन गर्न आग्रह गरेका छन ।
आज बुधबार मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन ।
उनले मनोरञ्जन, वैदेशिक रोजगारी, घरेलु काम, मानव अङ्ग प्रत्यारोपणलगायत विभिन्न कार्यका लागि मानव खासगरी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको उनले बताएका छन ।
उनले भनेका छन, ‘अन्तरदेशीय सङ्गठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन सकेका छैनन्, हाम्रो देश पनि यस अमानवीय समस्याबाट प्रभावित छ, अपराधजन्य यस कार्यमा संलग्न पक्षले समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा उठाइरहेका छन ’ ।
उनले त्यस्ता कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याएर दण्डित गर्न र पीडित÷प्रभावितको उद्धार, स्वदेश फिर्ती, पुनःस्थापना, पुनर्मिलन र राहत तथा क्षतिपूर्ति प्रदान गर्ने काम प्रभावकारी हुन नसकेको बताएका छन ।
