नेपालले पहिलो विकेट गुमायो, ३८ रन बनाएर आउट भए कुशल

१८ भाद्र २०८०, सोमबार १६:१२


काठमाडौ, १८ भदौ–श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी एसिया कप क्रिकेटको भारतविरुद्दको खेलमा सोमबार नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशललाई गुमाएको छ । उनी ३८ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी दुई छक्का र तीन चौका प्रहार गरेका छन ।

यसका साथै उनले एकदिवसीय खेलमा एक हजार रन पनि पुरा गरेका छन । उनको विकेट भारतीय बलर सार्दुल ठाकुरले लिएका हुन् । उनी सार्दुलको बलमा इशान किशनद्वारा आउट भएका छन ।

नेपालले ९ ५ ओभरमा एक विकेट गुमाएर ६५ रन पुरा गरेको छ । नेपालले टस हारी पहिलो ब्याटिङको गरेको थियो । त्यसअघि खेलको प्रारम्भमै भारतीय फिल्डरले नेपालका दुबै ओपनर ब्याट्सम्यानको क्याच छाडेका थिए ।

दुबै ओपनर कुशल भुर्तेल र आशिफ शेखले तीनपटक क्याच आउट हुनुबाट जोगिए । पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले नेपालका ओपनर कुशल भुर्तेलको क्याच छाडेका थिए ।

त्यसपछि दोस्रो ओभरमा मोहम्मद सिराजको बलमा विराट कोहलीले आशिफ शेखको क्याच छोडेका थिए । यसैगरी पाँचौं ओभरमा कुशल भुर्तेलको क्याच विकेटकिपर इशान किशनले छाडेका थिए ।

त्यसपछि छैटौं ओभरमा सिराजको बलमा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले छक्का प्रहार गरेका थिए । समूह ‘ए’ बाट पाकिस्तान प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ ।

नेपाल र भारतबीचको खेलमा विजयी हुने टोली पनि ‘सुपर फोर’ चरणमा पुग्नेछ । त्यसैले यो खेल नेपाल र भारत दुबै टोलीका लागि उत्तिकै महत्वपूर्ण छ ।