चीनले हालै जारी गरेको नक्सा बारे प्रधानमन्त्री भ्रमणका बेला कुरा उठ्छः अग्नि सापकोटा

१५ भाद्र २०८०, शुक्रबार १४:३६

काठमाडौं, १५ भदौं– चीनले हालै जारी गरेको नक्सामा नेपालको लिपुलेक क्षेत्र समावेश नगरेको बारे प्रधानमन्त्रीको भ्रमणका बेला कुरा उठ्ने नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।

आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले चीनले जारी गरेको नक्साबारे सरकारले कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका हुन् ।

‘उनले भने चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला कुराकानी हुन्छ, सरकार प्रस्ट हुँदै जनतालाई प्रस्ट पार्नुपर्छ ।’ चीनले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको छैन ।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गतेदेखि चीनको भ्रमण गर्दैछन् । नयाँ नक्सा जारी गर्दा चीनले नेपाली भूमिलाई भारतमा पारेको भन्दै काठमाडौंका मेयर बालेन साहले चीन भ्रमण समेत रद्द गरेका छन् ।