काठमाडौँ, १५ भदौ– आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा शुक्रबार नेपालले बहराइनलाई १० विकेटले हराएको हो । यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले हराएको थियो ।
शुक्रबारको खेलमा टस जित पहिलो ब्याटिङको निणर्य लिएको बहराइनले १५.४ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सफल भएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २.५ ओभरमै कुनै पनि विकेट नगुमाई विजयी भएको हो । नेपालका लागि ओपनर कविता कुँवरले अविजित १७ र सीता रानामगरले अविजित दुई रन बनाएका थिए ।
कविता कुँवरले १४ बलको सामना गरी तीन चौका पनि प्रहार गरीन । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको बहराइका ब्याटरहरुलाई नेपाली बलरले प्रारम्भदेखि नै दबाबमा राखेका थिए ।
बहराइनलाई सस्तोमा समेटन नेपाली टोलीकी बलर इन्दू वर्माले तीन विकेट लिएकी थिइन् । उनले चार ओभर बलिङ गर्दै दुई मेडन राखेर केवल पाँच रन खर्चिएकी थिइन् ।
खुसी डंगोलले दुई विकेट हात पारिन् । उनले १.४ ओभर बलिङ गर्दै एक रन पनि दिइनन् । कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले पनि एक—एक विकेट हात पारे ।
बहराइनका लागि कप्तान दीपीका रसनगिकाले ११ रन बनाइन् । इशारा सुहुनले पाँच रन जोडेकी थिइन् । अब नेपालले आइतबार भुटानको सामना गर्नेछ ।
त्यसपछि नेपालले मंगलबार कतार र बिहीबार संयुक्त अरब इमिरेट्स यूएई सँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।
दुवै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा हुने भएको छ ।
