२०७२ भूकम्प पछि पहिलो पटक आजदेखि मानिस आवाजावतका लागि तातोपानी नाका खुल्यो

१५ भाद्र २०८०, शुक्रबार १२:५७

काठमाडौं, १५ भदौं– २०७२ भूकम्प पछि पहिलो पटक (आज) शुक्रबारदेखि मानिस आवाजावतका लागि तातोपानी नाका खुलेको छ।

तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास र चिनियाँ अधिकारीहरु बीच मंगलबार भएको सहमतिपछि आज देखि सो नाका सञ्चालनमा आएको हो । पास प्राप्त गरेका नेपालीहरु आज देखि चीनतर्फ जान थालेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दयानन्द केसीले बताएका छन्।

तातोपानीको पारीपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानी स्थित अध्यगमन कार्यालयले पास वितरण गरेको थियो । अध्यगमनले जारी गरेको एक वर्षे अवधिको पास पाएकाहरुले चीन जान अनुमति पाएका हुन् ।

२०७२ सालको भूकम्प पछि तातोपानी नाका पूर्ण रुपमा ४ वर्ष बन्द भएको थियो । दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोना भइरस महामारी विश्वभर फैलिए पछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो ।

कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटकपटक भएपनि यात्रु आवाजावतका लागि नाका सञ्चालनमा आएको थिएन ।