डेंगुबाट संक्रमित हुनेको संख्या २१ हजारभन्दा बढी पुग्यो

१४ भाद्र २०८०, बिहीबार १६:१२

काठमाडौं, १४ भदौं– डेंगुबाट संक्रमित हुनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । डेंगु संक्रमित हुनेको संख्या २१ हजारभन्दा बढी पुगेको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्यांक अनुसार २१ हजार २०६ जनामा संक्रमण भएको छ ।

गएको साढे सात महिनाको अवधिमा ७५ जिल्लामा डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमात्रै १६ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशमा ३ हजार १४६ जनामा पुष्टि भएको छ भने तेस्रोमा गण्डकी प्रदेशमा ६४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, क्रमशः सुदूरपश्चिम प्रदेश ५९८, लुम्बिनी प्रदेश ३६४, मधेस प्रदेशमा १९१ र कर्णाली प्रदेशमा ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

ईडीसीडीले डेंगु संक्रमित एक सयभन्दा बढी पुष्टि भएका १० जिल्ला छुट्याएको छ । १० जिल्ला मध्ये सबैभन्दा बढी सुनसरी जिल्लामा ११ हजार ६५९ जना संक्रमित भएको महाशाखाले जनाएको छ ।

दोस्रोमा २२ सय ४२ केस मोरङमा पुष्टि भएको छ भने २ हजार १०१ केस धनगडीमा पुष्टि भएको छ । यस्तै ईडीसीडीका अनुसार क्रमशः १३ सय २३ झापा, ४२७ काठमाडौँ, ३३६ धनकुटा, २७२ सङ्खुवासभा, २६० कास्की, १९४ दार्चुला र १७४ जनामा ललितपुरमा पुष्टि भएको छ ।