नेबरास्का र ओमाहाको खेल हेर्न ९२ हजार तीनजना दर्शक उपस्थित

१४ भाद्र २०८०, बिहीबार १२:४८

काठमाडौं, १४ भदौं– हालै अमेरिकामा भएको नेबरास्का भलिबल प्रतियोगिता हेर्न उपस्थित भएको दर्शकको सँख्याले भने विश्व कीर्तिमान नै बनाएको छ । सिकागोमा आयोजित उक्त खेल प्रतियोगिता हेर्न ९२ हजारभन्दा बढी दर्शक उपस्थित भएको स्रोतले बताएको छ ।

महिला खेलमा यति धेरै दर्शक उपस्थित भएको यो पहिलो पटक भएको जनाइएको छ । उक्त खेल नेबरास्का र ओमाहाबीच भएको थियो । खेल स्थानीय विद्यालयको फुटबल मैदानमा खेलिएको थियो । खेल हेर्न ९२ हजार तीनजना दर्शक उपस्थित भएका थिए ।

यसअघि महिला खेलकुदमा सर्वाधिक दर्शकको कीर्तिमान गत वर्ष बार्सिलोना र रियल म्याड्रिडबीच भएको फुटबल खेलले बनाएको थियो । बार्सिलोना र रियल म्याड्रिडबीचको उक्त खेल च्याम्पियन्स लिगअन्तर्गत भएको थियो । उक्त खेलमा ९१ हजार ६ सय ४८ दर्शक उपस्थित भएका थिए ।

नेबरास्का र ओमाहाबीचको उक्त भलिबल खेल प्रदर्शनी खेल थियो । यसअघि भलिबल खेल हेर्न २० हजारको हाराहारीमा दर्शक आउने गरेका थिए । यो प्रदर्शनी खेलका लागि भने निकैअघिदेखि प्रचारप्रसार गरिएको थियो ।

अमेरिकामा यति धेरै समर्थक खेल हेर्न उपस्थित भएको यो पहिलो पटक हो । सन् १९९९ मा आयोजित फिफा महिला विश्वकपमा आयोजक अमेरिका र चीनबीचको खेल हेर्न ९० हजार एक सय ८५ दर्शक उपस्थित भएका थिए ।