एसिया कप हेर्न आज २ बजेपछि जनकपुरका विद्यालयहरू बन्द

१३ भाद्र २०८०, बुधबार १४:२२


काठमाडौ, १३ भदौ– आज (बुधबार) हुने एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले बुधबार दिउँसो २ बजेपछि बिदा दिएको छ ।

सूचना जारी गरी बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न उपमहानगरका वरिष्ठ उपसचिव मेहीलाल यादवले निर्देशन दिएका छन ।

आजदेखि सुरु हुन लागेको एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग मुल्तानमा खेल्दैछ ।

१५ औँ स्थानमा रहेको नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्दैछ । खेल नेपाली समय अनुसार ३ बजे १५ मिनेटमा सुरु हुँदै छ ।

औपचारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो। सन् २०१४ को टी–२० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठुलो प्रतियोगिता हो । टी–२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन ।