एमसीसीलाई लिएर समाजवादी मोर्चाभित्र विवाद

१३ भाद्र २०८०, बुधबार १३:५१

काठमाडौ, १३ भदौ– सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कार्यान्वयनको विषयलाई लिएर खटपट भएको छ ।

एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाएका थिए ।

बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि जनाएको थियो ।

बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए ।

तर प्रचण्डले एमसीसी कार्यन्वयनको चरणमा नै प्रवेश गरिसकेकाले अहिलेलाई केही गर्न नसक्ने बताएका थिए । उक्त बैठकमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र स्थायी समिति सदस्य अनिल शर्मा उपस्थित रहेका थिए ।

उक्त बैठकमा मोर्चाका अध्यक्ष माधव नेपाल पनि सहभागी भएनन् । ‘उहाँले पनि आउँछु भन्नुभएको थियो । तर पछि भ्याइएन भनेर खबर पठाउनुभएको थियो ।

हामीले राखेको विषयमा आफू सहमत भएको उहाँको धारणा छ’, बैठकमा सहाभगी नेता शर्माले भने । धनगढीमा बुधबार दिउँसो १ बजेका लागि तय भएको मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा अन्तिम समयमा आएर स्थगित भयो ।

माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले प्रधानमन्त्रीसहित मोर्चाका शीर्ष नेताको कार्य व्यस्तता कारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन ।

प्रदेशस्तरीय सन्देश सभा हुने भएपछि पहाडी जिल्लाका नेता कार्यकर्ताहरू मंगलबार नै धनगढी आइपुगेका थिए । सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।