काठमाडौ, १३ भदौ– पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५० वर्षीया मनकला चुदारा, यमबहादुर बोहरा र रेत भुजेल रहेको प्रहरीले जानकारी दिएको छ ।
तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर थियो ।
दुर्घटनामा अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिएका छन ।
घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । स्थानीय र प्रहरीसहितको टोली उद्धारमा लागेको छ । उक्त जिपमा केही बालबालिकासमेत रहेको प्रहरी जानकारी दिएको छ ।
दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा पर्छ । दुर्घटनामा परी घाइते हुनेमा चालक बालकृष्ण श्रेष्ठ, अन्दाजी ३६ वर्षीया सुष्मा राना घर्ती, अन्दाजी ६ वर्षीया सुरबी घर्ती, ५ महिनाकी शिवा घर्ती, २७ वर्षीया स्कृति थापा, ५ वर्षीया सुष्मा थापा, शोभा घर्तीमगर र टेकबहादुर घर्तीमगर रहेका छन ।
