प्रधानमन्त्री प्रचण्डलाई गगनको चेतावनी : सरकारले हामीलाई हेप्यो, यो पटक देखाइदिनुपर्छ

१२ भाद्र २०८०, मंगलवार १६:०१

काठमाण्डौ, १२ भदौ– कांग्रेस महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोध गर्दै सरकारको आलोचना गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफलका क्रममा संसद् र सांसदलाई हेपेर सरकारले सो विधेयक ल्याएको बताएका छन ।

०७४ सालमा नेकपाको सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ को नाममा चरम दुरुपयोग गरेको उनले बताएका छन ।

नेपाल ट्रष्ट ऐन कानुन त्यही छिराएर ल्याएको बताउँदै उनले त्यो बेला संसदभित्र र हालको कानुन मन्त्रीले संसद् बाहिर जमेर विरोध गरेको बताएका छन ।

सांसद थापाले भने–‘त्यो बेला गलत अहिले सही हुन्छ ? यो विधिशास्त्रको मान्यताको खिलाफ हो । यसरी विधेयक ल्याउनु भनेको हिजो पनि संसद्लाई हेपेको हो, आजपनि संसद्लाई हेपेको हो ।

किनकि संसदीय व्यवस्थामा सरकारलाई के लाग्छ भने मसँग बहुमत छ, मैले जे ल्याएपनि पारित हुन्छ भन्ने लाग्छ । यो हामीलाई हेपेको हो ।

हामी हेपिने कि नहेपिने यसपटक देखाउनुपर्ने छ ।’ सांसद थापाले सो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधन मार्फत जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी ल्याएको प्रावधान, राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरणको व्यवस्था स्वीकार्य नभएको पनि बताएका छन ।

उनले भने, ‘कानुनमन्त्रीलाई मेरो आग्रह छ, ०७४ सालमा बनेको सरकारले लेखेको मस्यौदा हो यो । यसको भारी नबोक्नुस्, यसलाई बिसाउनुस् । यसलाई हटाउनुस् ।

वातावरण संरक्षण ऐनमा मन्त्रालयले स्वीकृत गर्ने इआईएको प्रावधान मन्त्रालयले स्वीकृत गर्नुपर्छ, अहिले विभागबाट गर्ने भनेर लेखेको छ ।

मन्त्रालयले मान्दैन यो, वातावरणविद्ले मान्दैन हो, कसको इसारामा ल्याइएको हो ? कसको सेवा गर्न ल्याइएको हो यो ?’ सांसद थापाले राजस्व चुहावट ऐनमा हिजो जिल्ला अदालतबाट माथिल्लो अदालतमा लगिएको र आज माथिल्लोबाट जिल्ला अदालतमा सारिएको, वैदेशिक रोजगार बोर्डमा निमित्त कार्यकारीको पद अनन्तकालसम्म लम्ब्याउन मिल्नेगरी घुसाइएको, जुन जुन मन्त्रालयलाई जे जे गर्नुपर्नेछ साबिकको बाटोबाट आउँदा पारित नहुनेभएपछि केही नेपाल ऐन संशोधनको नाममा घुसाएर पठाइएको बताए ।