काठमाण्डौ, १२ भदौ– चर्चित कलाकार सागर लम्साल ‘बले’ अमेरिका उडेका छन् । जम्मा ६ दिनका लागि उनी मंगलबार बिहान अमेरिका उडेका हुन् ।
उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आफू अमेरिका उडेको बताएका छन । उनको अमेरिका यात्राको उद्देश्य २ म्युजिक भिडियो अभिनय रहेको उनले बताएका छन ।
दुवै भिडियो उनकै बले ईन्टरटेन्मेन्टबाट निर्माण हुन लागेको छ । पछिल्लो समय म्युजिक भिडियो अभिनयमा धेरै देखिँदै आएका लम्साल म्युजिक भिडियोमा उत्कृष्ट लोकेसन पस्किन अमेरिका छायाङ्कन गर्न लागेको जानकारी दिएका छन ।
उनले भनेका छन, ‘मेरो ६ दिनको अमेरिका भ्रमणको उद्देश्य केबल २ म्युजिक भिडियो मात्र हो’ त्यसैले केबल ६ दिन मात्र बस्नेछु ।’
४ दिन भिडियो छायाङ्कन र २ दिन भ्रमणका लागि छुट्टाएको उनले खुलाए । दुवै भिडियो दिलासा बस्नेतको निर्माण तथा शिशिर खातीको निर्देशनमा बन्न लागेको हो ।
लम्साल पछिल्लो समय फिल्म निर्माणको तयारीमा रहेका छन । बेले इन्टरटेनमेन्टबाट फिल्म निर्माण गर्न लागेका उनले फिल्म अगाडि आफ्नो प्रोडक्सन चर्चा दिलाउन भिडियो निर्माण गर्दै आएका छन् ।
फिल्मको स्क्रिप्ट पनि उनी आफैँ लेखिरहेका छन् । जसको काम अन्तिम चरणमा पुगेको उनले बताएका छन । उनले निर्माण गर्ने फिल्म कमेडी र प्रेमकथामा हुनेछ ।
‘लोफर’बाट अभिनय यात्रा सुरु गरेका सागरले ‘बले’ उपनाम यही फिल्मबाट पाएका थिए । त्यसपछि ‘भद्रगोल’ हुँदै हाल ‘सक्किगोनी’ सिरियलसम्म आउँदा उनले यो उपनाम छोडेका छैनन् । उनलाई धेरैले नामले भन्दा पनि ‘बले’ उपनामले चिन्छन् ।
