केपी ओलीले फेसबुकमा सेयर गरे माधव नेपालसँगको तस्बीर

१२ भाद्र २०८०, मंगलवार १३:४८

काठमाण्डौ, १२ भदौ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगै बसेको तस्बिर सामाजकि सञ्जाल फेसबुक मार्फत सार्वजानिक गरेका छन ।

ओलीले सोमबार साँझ नेपालसँग मञ्च सेयर गरेको तस्बिर पोष्ट गरेका हुन् । ओली र नेपाल दुवै सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा सहभागी भएका थिए ।

पूर्वप्रधानमन्त्रीका हैसियतमा दुवैलाई सँगै बस्ने व्यवस्था मिलाइएको थियो । सँगैको कुर्सीमा बसे पनि उनीहरुबीच संवाद भने भएन ।

नेकपाकालीन समयदेखि नै तिक्ततापूर्ण रहेको ओली–नेपाल सम्बन्धमा एमाले विभाजनपछि झनै दरार बनेको छ । सार्वजनिक रुपमै उनीहरुले एकअर्काविरुद्ध आरोप र टिप्पणी गर्दै आएका छन् ।

यतिसम्म कि ओली सहभागी कार्यक्रममा नेपाल र नेपाल सहभागी हुने कार्यक्रम वा बैठकमा ओली जाँदैनन् । केही दिनअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेपाल थिएनन् ।

पार्टी बैठकमा नेपालले आफूलाई ओलीका कारण सर्वदलीय बैठकमा निषेध गरिएको गुनासो गरेका थिए । ओली बेलाबेला सार्वजानिक कार्यक्रममा माधव नेपालको मुखै नहेर्ने पनि बताउँदै आएका छन । यस्तोमा ओलीले नेपालसँग बसेको तस्बिर शेयर गर्नुलाई अर्थपूर्ण हेरीएको छ ।