एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठिरहेको छः माधव नेपाल

११ भाद्र २०८०, सोमबार १७:५२

काठमाडौ, ११ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थक सहयोग परियोजना एमसीसी को व्याख्यात्मक टिप्पणीमा धेरै प्रश्न उठेको बताएका छन ।

आज सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले एमसीसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक भएको बताएका छन ।

उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन पनि आग्रह गरेका छन ।

उनले सिमानासँग जोडिएका विषयवस्तुहरू चुनौतीको रूपमा आइरहेको भन्दै छलफल र संवादबाट टुङ्ग्याउनुपर्ने बताएका छन ।

उनले भने, ‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू आइसकेका छन् । केही जल्दाबल्दा विषयहरू छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ की छैन ? भन्नेबारेमा पनि कुरा उठिसकेको छ ।

हाम्रो सिमानासँग जोडिएका विषयवस्तुहरू पनि आएका छन् । सिमानासँग जोडिएको विषयवस्तु भित्र संवेदनशील कुराहरू छन् ।

संयुक्त राष्ट्रको बडापत्रदेखि लिएर असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राख्नुपर्छ ।’