माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

१० भाद्र २०८०, आईतवार १३:५७

काठमाडौं, १० भदौ– माण्डु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आवेदन खुल्ला गरेको छ । कम्पनीले आइतबारदेखि प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपै याँको १२ प्रतिशतले हुने १६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ प्रति कित्ताको दरले सेयर निष्कासन गर्ने स्वीकृति कम्पनीले पाएको हो ।

सार्वजनिक निष्कासन गर्न अनुमति पाएको मध्ये जारी पूँजीको २ प्रतिशतले हुने २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरी बाँडफाँट गरीसकेको छ । स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित समेत थप गरेर कम्पनीले सर्वसाधारण्को लागि सेयर निष्कासन गर्न लागेको हो ।

यसका साथै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।