सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

१० भाद्र २०८०, आईतवार ११:२८

काठमाडौँ,१० भदौ– न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा परेको छ ।

नाबालिग बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । जिल्ला अदालत काठमाडौँ जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ हुने बताइएको छ ।

न्यायाधीश पण्डित रहेका इजलास नम्बर १५ मा लामिछानेको मुद्दा पेसीमा चढेको छ भने उनको मुद्दा पेसी सूचीको पाँचौँ नम्बरमा रहेको छ ।

यसअघि न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित गौशाला २६ र उनको आमाको समेत उमेर विवाद देखिएको भन्दै गत साता गौशाला २६ को परिवारले बसाईसराई गर्दा पेश गरेको कागजातको प्रमाणित प्रतिलिपि र उनकी आमाको उमेर खुल्ने कागजात अदालतमा पेश गर्न आदेश दिएका थिए ।

त्यससँगै क्रिकेटर सन्दीप लामिछानेले बयानका क्रममा अदालतमा बुझाएको किशोरीको जन्म दर्ता किताबको प्रतिलिपिको जाँच गर्न पनि इजलासले आदेश दिएको थियो ।

अदालतको आदेशअनुसार सन्दीपले बयान दिने क्रममा किशोरीको जन्म दर्ता किताबको प्रतिलिपि आफूलाई कुनै शुभेच्छुकले दिएको र त्यसको आधिकारिकता थाहा नभएको तर मुद्दाका क्रममा महत्त्व राख्न सक्छ भनेर बुझाएको बयान दिएका थिए ।