व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न हर्क साम्पाङको नाममा अन्तरिम आदेश

८ भाद्र २०८०, शुक्रबार १४:१२

काठमाडौँ, ८ भदौ– धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरूद्ध रिट दर्ता गराएका थिए । धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षरोपण गरेका थिए ।

वृक्षरोपण गरेको जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन् । मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाको जग्गा भएकाले वृक्षरोपण गरेको दाबी गरेका छन् ।