कालीगण्डकीको बहाव अहिलेसम्मकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

८ भाद्र २०८०, शुक्रबार १४:००

पर्वत, ८ भदौ– लगातार परेको पानिका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्याधिक वर्षाका कारण नदीको सतह बढेको हो ।

दुई वर्षयताकै उच्च विन्दुमा नदिको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताए ।

उनले बिहानैदेखि नदीको सतहदेखि झन्डै आठ मिटर उचाइमा बहाव आएको बताए । अहिलेको पानीको बहाव झन्डै दुई सय ८३ क्युसेक पुगेको छ । यो बहाब यस वर्षकै सबैभन्दा बढी मापन हो । यसअघि गत साउनमा सात दशमलव ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा नरोकिएमा अझै बहाव बढ्ने सम्भावना देखिएको उनले बताए ।

कालीगण्डकी नदीको बहाव अत्याधिक मात्रामा बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी एवं फलेवास नगरपालिकाका जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीबेनी बजार उच्च जोखिमयुक्त स्थानमा छन् ।
बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले जानकारी दिए ।

शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रुपमा क्षति पुगेको उनले बताए ।