काठमाडौ, ७ भदौ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको आरोप लगाएका छन ।
आज (बिहीबार) भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम गरिरहेको आरोप लगाएका हुन ।
उनले भने, ‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन्’ ‘पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् ।’
उनले जातियताका नाममा उफ्रनेहरू किरात, राई लिम्बु भएको भन्दै भने, ‘उफ्रने उनीहरू छन् उफार्ने पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन् । ’
उनले कोशीमा प्रचण्ड र माधव नेपालहरूले नुवाकोटमा साढे जुधाए झैँ जनतालाई जुधाइरहेको बताएका छन । उनले भने, ‘साँढेको केही दुस्मनी हुँदैन ।
तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनि ताली पड्काउँछन् । जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्’ ।
अध्यक्ष ओलीले विखण्डनवादलाई राष्ट्रिय एकताको भावले जित्ने भन्दै जनतालाई अन्यायको राज हुन नदिने बताए । उनले भने, ‘अन्यायको राज गर्न खोज्छ कसैले भने हामीले प्रतिवाद गर्नुपर्छ ‘कसैले कानुनको राज नगरेर बलजफती जनता दबाए अन्यायको राज लाद्न खोज्छ भने त्यतिबेला हामीले प्रतिवाद गर्नुपर्छ ।’
उनले राष्ट्रको हितविपरित, राष्ट्रको सार्वभौमसत्ता विपरीत र राष्ट्रको स्वाधीनता विपरीत कसैले काम गर्छ भने त्यसलाई असफल बनाएरै छाड्ने बताएका छन ।
उनले भने, ‘हाम्रो भूगोल टुक्रिन हुँदैन । सग्लो देश हामीलाई चाहिन्छ त्यो हामी कायम गरेर छोड्छौ’ ‘विश्वले हामीलाई बहादुर भन्छ । तर आफ्नै देशको सार्वभौम सत्ता जोगाउन सक्दैनौ भने जागिरे बहादुरी के काम लाग्छ ?’
