कोशीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध रिट लिएर एमाले नेताहरु सर्वोच्चमा

६ भाद्र २०८०, बुधबार १६:४३

काठमाडौँ, ६ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै एमाले नेताहरु रिट लिएर सर्वोच्च अदालत पुगेका छन ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका छन । सोमबार मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीको पनि मत लिएर विश्वासको मत पाएका थिए ।

विश्वासको मत लिदा संविधानको उल्लङ्घन भएको दाबीसहित रिट लिएर सर्वोच्च पुगेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएकारी दिएका छन ।

जबरजस्ती विश्वासको मत पाएको घोषणा गरेकाले प्रदेश सभा नियमावली र संविधानको व्यवस्थालाई विपरीत भएको दाबी रिटमा गरिएको छ ।

४ भदौ दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाएर उपसभामुख सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै सोही दिन काठमाडौँ गएपछि प्रदेशसभा बैठक अध्यक्ष मण्डलका सदस्य का‌ग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए ।

मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजनपछि दिएको मत सच्याउने समयमा मन्सुरीले सभाध्यक्षको आसनमा माओवादी प्रदेशसभा सदस्य गीता तिम्सिनालाई बोलाएर मतदान गर्न गएका थिए ।

मन्सुरीसमेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरी प्रदेशसभामा विश्वसको मत पाएका थिए । विपक्षमा ३० मत परेको थियो ।