काठमाडौँ, ६ भदौ– सत्तारुढदल र प्रतिपक्षीदलबीच सुन तस्करी प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।
आज (बुधबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा जाँचबुझ आयोग ऐन २०५६ बमोजिम आयोग गठन गर्ने सहमतिभएको नेताहरुले जानकारी दिएका छन ।
आयोगले ५ असोजदेखि काम थाल्ने सहमति भएको छ । सहमतिमा उल्लेख छ, ‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्नेपरिमार्जन, सुधार, पटकपटकका सुन तस्करीका छानबिन अनुसन्धानबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न जाँचबुझ आयोगगठन गरी असोज ५ गतेदेखि आयोगले काम प्रारम्भ गर्नेछ’ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रतिपक्षका ७ दलका शीर्ष नेता सहभागी थिए ।
२ बुँदे सहमतिमा कॅाग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, राजपा र जनमतसहित ७ दलका सचेतकहरूले हस्ताक्षर गरेका छन् ।
एमालेले उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गतेयता पटकपटक सदन अवरूद्ध गर्दै आएको छ । सहमतिसॅगै प्रतिनिधिसभाको आज अपराह्न ३ बजेका लागि बोलाइएको बैठक बस्ने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।
