काठमाडौँ, ६ भदौ– १० साउनदेखि अवरुद्ध रहेको प्रतिनिधि सभा सुचारु गराउन प्रमुख प्रतिपक्षी दल एमाले तयार भएको छ । सुन तस्करी छानबिनका लागि जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै एमाले सदन खुलाउन सहमत भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा सदन खुलाउनेबारे दुई बुँदे सहमति भएको हो ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरुबीच उक्त सहमति भएको हो ।
सहमतिमा केहीबेरमा हस्ताक्षर हुने बैठकमा सहभागी एमाले उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन । उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले गत १० साउनदेखि पटकपटक संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको बैठक आजै अपराह्न ३ बजेका लागि बोलाइएको छ ।
