काठमाडौ, ६ भदौ– भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन । आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज सटेज भएको छ ।
११ भदौ देखी भारतले आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय गरेको छ । त्यसयता शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भए पनि सोमबारदेखि भने आयात र बिक्री नै ठप्प भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।
बजारमा भएका सबै पसलमा प्याज सकिएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले जानकारी दिएका छन । उनले भने, ‘बजारमा ८० वटा आलु प्याजका पसल छन्, ‘सबै पसलमा प्याज सकिएको छ ।
प्याज नभएपछि मूल्य तोक्ने कुरै भएन ।’कालिमाटी र काठमाडौंलाई आधार बनाएर आलु प्याजको कारोबार गर्ने व्यापारीहरुले भने भारतले निर्यात कर लगाएपछि उतैका व्यापारीहरुले प्याजको बिक्री नगरेको उनले बताएका छन ।
एक्कासी आएको नीतिका कारण उनीहरु अन्यौलमा हुँदा निर्यातकहरुले प्याज नै नपठाएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिएका छन । उनले भने, ‘व्यवसायीले प्याज ल्याउन सकेको छैनन् ।
भएको प्याज सकियो’, महासचिव ‘अब आयात सहज नभई बजारमा प्याज उपलब्ध हुने अवस्था छैन ।’ आइतबार कालीमाटी बजारमा प्याजको थोक बिक्री मूल्य ६१ रुपैयाँ प्रतिकिलो थियो ।
आइतबार दिउँसैदेखि बजारमा प्याजको मूल्य मनपरी लिन थालिएको थियो । लगत्तै वाणिज्य विभागले अनुगमन गरेपछि बजारमा प्याजको आपूर्ति ठप्प भएको छ ।
