काठमाण्डौ, ५ भदौ– मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले जित निकालन सफल भएको छ ।
हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि सम्झना खड्का ३६ बलमा ५ चौका सहित सर्वाधिक ३६ रन बनाइन ।
ओपनरका रुपमा गएकी पूजा महतोले १८ बलमा १६ रन जोडिन् । उनी कप्तान क्यारी चानको बलमा बोल्ड हुन पुगिन् । अर्की ओपनर बिन्दु रावल शुन्यमै क्युरा साहारको बलमा एलबीडब्ल्यू बोल्ड भइन् ।
तेस्रो क्रममा आएकी इन्दुले १३ बलमा ९ रन जोड्दै मरिको हिलको बलमा बोल्ड भइन् । कप्तान रुबिना क्षेत्री २० बलमा १ चौका सहति १० रनमा मार्यम बीबीको बलमा बोल्ड भइन् ।
सीता राना मगर ८ बलमा २ रनसहित अविजित रहिन् ।हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बीबीले समान एक विकेट लिएका थिए ।
त्यसअघि, वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ ओभरमा अलआउट हुँदै ८४ रन बनाएको थियो ।
