किन आवश्यक छ जलविन्दुको नियमित परीक्षण ?

५ भाद्र २०८०, मंगलवार १५:२०

चितवन, ५ भदै– आँखामा लाग्ने जलविन्दु (ग्लुकोमा) रोगको नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन्। यो रोग लागेपछि जीवनभर औषधि उपचारमा लाग्नुपर्ने भएकाले समयसमयमा परीक्षण गरिरहनुपर्ने उनले बताए ।

यो रोगलाई प्रायः ‘दृश्यको मौन चोर’ भनिन्छ। जलविन्दुले लक्षण नै नदेखाई बिस्तारै छेउछेउबाट दृष्टि बिगार्दै जान्छ। अन्तिम अवस्थामा पुगेपछि त्यसलाई निको बनाउन सकिँदैन। भरतपुर आँखा अस्पतालमा शनिबार आयोजना गरिएको जलविन्दुसम्बन्धी जनचेतनामूलक कार्यक्रममा चिकित्सकले जलविन्दु रोगको नियमित परीक्षण गर्न सुझाव दिएका थिए।

उक्त अस्पतालका जलविन्दु विभाग प्रमुख डा. रञ्जित साहले जलविन्दुको उपचार औषधि, लेजर प्रविधि र शल्यक्रियामार्फत गर्न सकिने जानकारी दिए। शल्यक्रिया अन्तिम विकल्प रहे पनि जीवनभरका लागि नहुने उल्लेख गर्दै प्रमुख साहले भने, ‘शल्यक्रिया गरे पनि कुनै समयमा पुगेर पुनःकाम नगर्न सक्छ। आधुनिक लेजर प्रविधि जलविन्दुको अवस्था हेरेर अपनाउन सकिन्छ, लेजर र शल्यक्रिया गरेपनि बिरामी नियमित परीक्षणमा आउनुपर्छ।’