सुन तस्करीमा शक्तिशाली अन्तर्राष्ट्रिय गिरोह सक्रिय छ: अध्यक्ष ओली

५ भाद्र २०८०, मंगलवार १४:४४

काठमाण्डौ, ५ भदौ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताएका छन ।

हिजो ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय सदस्यमा मनोनित छक्कबहादुर लामालाई सपथ ग्रहण गराउँदै उनले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी नभई मुलुकको परिवर्तन गर्नका लागि राजनीति गरेको बताएका छन ।

उनले भने, ‘ एमाले प्रधानमन्त्री, सभामुख, मन्त्री, मुख्यमन्त्री हुनका लागि राजनीति गर्ने पार्टी होइन। देशमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो,’ ‘जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो।’

उनले एमालेले मात्र जनताको समर्थन प्राप्त गर्न चाहने र बुझ्ने पार्टी रहेको बताएका छन । उनले त्यसका लागि कार्यकर्तालाई सहज र सजक ढंगले जनतामा जान अभिप्रेरित गर्न आग्रह गरेका छन ।

अध्यक्ष ओलीले मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई गन्तव्यका साथ अगाडि बढाउने योजनाका साथ एमाले पार्टी अगाडि बढेको पनि बताएका छन ।

उनले भ्रष्टाचार र तस्किरी रोक्नका लागि भनेर आफूहरुले छानबिन समिति गठनको माग गरेको पनि बताएका छन । उनले सुन तस्करीमा शक्तिशाली अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेकाले छानबिन आवश्यक रहेको बताएका छन ।

उनले अहिलेको भद्रगोलस्थितलाई समृद्धिको बाटोमा लैजान आफूले खोजिरहेको भन्दै मुलुकमा कानुनको राज र संविधानसम्मत चल्नुपर्ने बताएका छन ।

‘संविधानमा कहीकतै कमीकमजोरी रहेको छ भने भोलि संशोधन गर्न सकिन्छ,’ अध्यक्ष ओलीले भने, ‘तर आजको संविधानअनुसार देश चलाउनुपर्दछ। पवित्र ढङ्गले देश चलोस्। कानुनको पालना राज्यले गराओस्।’