काठमाण्डौ, ५ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल राजनीतिक परिस्थिति र सत्ता गठबन्धन नबदलिने बताएका छन ।
पार्टीको जारी छैटौँ केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले वर्तमान गठबन्धन दीर्घकालीन नभए पनि तत्कालीन राजनीतिक कार्यगत एकता भएको पनि बताएका छन ।
उनले भने, ‘यो गठबन्धन दीर्घकालीन होइन तात्कालिक राजनीतिक एकतामात्र हो । त्यसैले तत्कालीन राजनीतिक परिस्थिति बदलियो भने यस्तो गठबन्धन पनि बदलिन सक्छ ।
तर अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिन र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन’ ।
साथै उनले आफ्नो पार्टी कम्युनिस्ट पार्टीबीच एकताको पक्षमा रहे पनि तत्काल वाम एकता वा पार्टी एकताको सम्भावना नरहेको पनि बताएका छन ।
उनले कम्युनिस्ट घटकहरुबीच एकतामा जोड दिँदै भनेका छन्‘ यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिस्ट पार्टीहरुबीचको एकता वा वाम एकता सम्भव छैन ।’
अध्यक्ष नेपालले पार्टी एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयहरूमा एकरूपता हुनुपर्ने बताएका छन ।
