प्रधानमन्त्री प्रचण्ड नेपालगञ्जमा रोकिए, आज बस्ने भनिएको दलको बैठक अनिश्चित

४ भाद्र २०८०, सोमबार १६:५०

काठमाडौँ, ४ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरू बैठक अनिश्चित भएको छ ।

मौसम खराबीका कारण प्रधानमन्त्री प्रचण्ड नेपालगञ्जमा रोकिएकाले बैठक अनिश्चित भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका छन ।

उनले भने, ‘ मौसम खराबीका कारण प्रधानमन्त्रीज्यू नेपालगञ्जमा रोकिनुभएको छ’ उहाँ काठमाडौँ फर्किएपछि साँझ बैठक बस्न पनि सक्छ । निश्चित भएको छैन ।’

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज सोमबार सुर्खेत गएका थिए । बैठकमा भाग लिन काठमाडौँ आउन लागेका उनी मौसम नसुध्रिएपछि नेपालगञ्जमा रोकिएका हुन् ।

संसदमा जारी अवरोधलगायत विषयमा छलफल गर्न प्रचण्डले आइतबार बैठक बोलाएका थिए । बैठक बिनानिष्कर्ष टुंगिएपछि आज दिउँसो ४ बजे बैठक बस्ने भनिएको थियो तर अनिश्चित भएको हो ।