कोशी प्रदेशसभा बैठक सुरु

४ भाद्र २०८०, सोमबार १५:४२

काठमाडौँ, ४ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सुरु भएको छ ।

सत्ता गठबन्धन दलको बैठकले थापाले आजै विश्वासको मत लिनुपर्ने निर्णय गरेको थियो । गठबन्धन दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेपालको संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेको बताएका छन ।

प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार भने मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाएर ‘अचानक स्वास्थ्यमा समस्या देखिएको’ भन्दै काठमाडौँ आएकी छन ।

उनले प्रदेशसभाको अध्यक्ष मण्डलका सदस्य रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मा दिएकी छिन् । उनै मन्सुरीले प्रदेशसभा बैठक सञ्चालन गरेका छन् ।

९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् । तर, काँग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा संचालन गर्नुपर्ने भएपछि गठबन्धनको पक्षमा ४६ जनामात्रै सांसद पुग्छन् ।

गठबन्धनले भने मन्सुरीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । यता प्रमुख प्रतिपक्षी दल एमालेको ४० र राप्रपाको ६ जना सांसद रहेका छन् ।

कांग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठनबन्धनको सहयोगमा उद्धब थापाको नेतृत्वको सरकार गत साउन १७ गते गठन भएको हो ।