काठमाडौँ, ४ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्व प्रदीप गिरि बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको दाबी गरेका छन ।
आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन ।
उनले समाजवादी चिन्तकको रूपमा बिपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरिकै नाम अधि आउने बताएका छन । सभापति देउवाले स्व गिरिका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताएका छन ।
गिरिका लेखबाट सिङ्गो पार्टी नै लाभान्वित हुने पनि उनले बताएका छन । उनले भने, ‘उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रूपमा लिएको छु । उहाँका लेख, कृतिहरू पार्टीले प्रकाशित गर्नुपर्छ ।
त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ ।’ सभापति देउवाले स्व गिरिप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको पनि बताएका छन ।
