काठमाडौँ, ४ भदौ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन ।
पार्टी सम्बद्ध पेसागत जिल्ला समिति बैठकलाई सोमबार सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमाथि अकारण हमला भइरहेको दाबी गरेका छन ।
उनले भने, ‘राम्रो काम गर्दा हाम्रो अध्यक्षले नेतृत्व गर्नुभएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ’ हामी सबै घेराहरू तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौँ ।’
सरकार जनताको साथ लिएर सबै खाले घेराबन्दी तोड्दै लक्ष्यमा अघि बढ्ने उनको भनाइ थियो । उनले सरकारले पछिल्लो समय असल नियतका साथ अघि बढाएका लोकप्रिय काम नरोक्ने पनि बताएका छन ।
उनले वर्तमान सरकारले गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान सुरुगरेको बताएका छन । उनले नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उनले चर्चा गरे ।
सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिपय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको उनको भनाइ थियो ।
