काठमाण्डौ,३ भदौ– कांग्रेसका नेता डा शेखर कोइरालाले संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन ।
आज (आइतबार) सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन ।
उनले संसद् तत्काल सुचारु गराउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह गरेका छन । उनले देश र जनताको कुरा भएकाले संसद् बैठक छिटोभन्दा छिटो सुचारु गराइनुपर्ने बताएका छन ।
उनले भने, ‘संसद् छिटोभन्दा छिटो चल्नुपर्छ । अब पर्सी बैठक बोलाइएको छ । हेरौँ, के गर्नुहुन्छ ? यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन । यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद् चल्नुपर्छ’ , ‘म एउटा सांसद हो नेपाली कांग्रेसको । हाम्रो सभापतिजी, जो संसदीय दलको नेता हुनुहुन्छ । उहाँहरूले कोअर्डिनेट गर्ने कुरा हो । सरकारले कोअर्डिनेट गर्ने कुरा हो । हामीहरू त आउँछौँ । संसद् चलाउनुपर्योो ।’
उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वाभाविक भए पनि संसद् बैठक भने सुचारु गराउनुपर्ने बताएका छन ।
