कास्की,३ भदौ– कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङ रहेका छन ।
पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
मोटरसाइकल रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०–९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खस्न पुगेको प्रहरीले बताएको छ ।
दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको थियो ।
चिकित्सकले जाँचका क्रममा दुवै जनालाई मृत घोषणा गरेका थिए । दुर्घटनाको कारणबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छन ।
