६० किलो सुन प्रकरणमा पक्राउ गरिएका ४ चिनियाँको साथमा भेटियो नेपाली नागरिकता

३ भाद्र २०८०, आईतवार १५:४५

काठमाडौँ, ३ भदौ– केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता फेला पारेको छ ।

‘सीआईबी’ को हिरासतमा रहेका चारजना चिनियाँले नेपाली नागरिकता लिएको भेटिएको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जनाकारी दिएका छन ।

उनले भने, ‘एकजनाले काठमाडौँबाट र ३ जनाले काभ्रे जिल्लाबाट नागरिकता लिएको भेटिएको छ ।’ डीआईजी कडायतका अनुसार चिनियाँ नागरिक लि–नेङकाईले काठमाडौँबाट सोनाम लामाको नाममा नागरिकता लिएको भेटिएको छ ।

लि–नेङकाई ३१ साउनमा पक्राउ परेका हुन् । दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको उनले बताएका छन ।

छिरिङले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको खुलेको उनले बताएका छन । तस्करीमा संलग्न डिङ सेग्फा र ली वेन सुङको साथमा पनि नेपाली नागरिकता भेटिएको छ ।

सुन तस्करीको आरोपमा पक्राउ गरिएका एकजना चिनियाँसँग भारतीय आधार कार्ड फेला परेको छ ।