माधव र बाबुरामको बयान नलिने कुरामा मेरो गम्भीर आपत्ति छ: गगन थापा

३ भाद्र २०८०, आईतवार १४:२२

काठमाडौँ, ३ भदौ– कांग्रेस महामन्त्री गगन थापाले ठुला काण्डहरू शीर्ष नेताहरूकै कारण सरकारले सामसुम पार्न खोजेको आरोप लगाएका छन ।

झापाको शिवसताक्षी नगरपालिकाको नगर सम्मेलनलाई आइतबार सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन । उनले विभिन्न घटनामा संलग्न सबै नेताहरू कारबाहीको दायरामा आउनै पर्ने बताएका छन ।

उनले शीर्ष नेताबीच यस्ता काण्डको छानबिन नगर्ने सहमति भएको समाचार आइरहेको भन्दै थापाले आपत्ति व्यक्त गरेका छन । उनले ‘तेरो र मेरो कुरा मिलेन भने खोलिदिने हो ।

एउटाले भन्छ– म सुन काण्डको छानबिन गर्छु । अर्कोले भन्छ–ठुलो कुरा गर्छस् । गिरिबन्धु टिस्ट्रेटको फाइल खोल्दिऔँ भन्छ । गिरिबन्धुको फाइल खोलियो भने म तेरो शिविरको खोली दिन्छु ।

त्यसपछि अर्कोले भन्छ । कोही पनि नखोलौँ । त्यो पाइन्छ ?, उनले प्रश्न गरेका छन । यति–ओम्नी, सुन काण्ड, ललिता निवास प्रकरण, गिरीबन्धु टिस्ट्रेट प्रकरणका विषयमा छानबिन हुनुपर्ने पक्षमा कांग्रेस उभिनुपर्ने ।

‘यति ओम्नी, गिरिबन्धु, ललिता निवास, सुन तस्करी, शिविर घोटाला लगायत सबै काण्डको फाइल खोलिनुपर्छ । त्यसको अनुसन्धान हुनुपर्छ । त्यसमा निर्दोष एक जना पनि पर्नु हुन्नँ ।

दोषी जोसुकै होस्’ ‘हाम्रो पार्टीको होस्, अर्को पार्टीको होस् कि पूर्व प्रधानमन्त्री होस् । ठुलो नेता होस् वा सानो नेता होस् । एक जनाले पनि उन्मुक्ति पाउनु हुँदैन भन्ने कुराको पोजिसन नेपाली कांग्रेसको बन्नुपर्छ ।’

उनले सरकारले भुटानी शरणार्थी र सुन काण्डलगायतको छानबिनको नेतृत्व गरिरहेका प्रहरी नेतृत्वको सरुवा गरेबारे पनि प्रश्न गरेका छन ।

उनले भने, ‘सुशासनको काम गरेको भनेर प्रशंसा पाइरहेको बेलामा पछिल्लो समय प्रहरी प्रशासनमा बसेका मानिसको सरुवा गर्नेदेखि लिएर यावत विषयमा कुरा सुनिरहेका छौँ ।

यी सबै कुराभन्दा अलग नेपाली कांग्रेसबाट छ, रहन्छ । कांग्रेसको एउटा कुनै व्यक्ति जतिसुकै ठुलो होस् । कांग्रेसको कुनै एउटा व्यक्ति यी कुरामा संलग्न हुन्छ भने, त्यो व्यक्तिको निजी कुरा हुन्छ । माथि बस्ने कुनै नेताले गरेको गल्तीको भारी तल बस्ने कार्यकर्ताले बोक्न सक्दैन,’ ।