गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब पार्टीभित्र भ्रष्टाचार गर्नेहरुलाई कारवाही गर्दै

३ भाद्र २०८०, आईतवार १०:४६

काठमाडौं, ३ भदौं– नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब पार्टीभित्र पनि भ्रष्टाचारविरोधी अभियान चलाउने बताएका छन्।

गृहमन्त्री श्रेष्ठले सरकारमाजस्तै पार्टीभित्र पनि रुपान्तरणको खाँचो रहेको बताउँदै गलत गर्नेलाई कारवाही गरिने बताएका हुन्। उनले शनिबार (हिजो) माओवादी गण्डकी प्रदेशको ७औं पूर्ण बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

सुन तस्करीदेखि भ्रष्टाचारका विभिन्न मुद्दामा माओवादीका शीर्ष नेताहरुको नाम जोडिएको बेला गृहमन्त्री श्रेष्ठले भ्र्रष्टाचारविरोधी अभियानले पार्टी र राष्ट्र दुबैको हित गर्ने पनि बताए।

उनले भने, “हामीले राज्यको क्षेत्रमा जे गरिरहेका नि, अहिले। कुन पार्टीको छ नहेर्ने ? कुन हाम्रो नजिक छ नहेर्ने ? कुनसँग हिजो हाम्रो संगत भएको थियो, नहेर्ने ? कुन परिवारको छ, नहेर्ने ? जसले भ्रष्टाचार गर्छ, जसले तस्करी गर्छ। जसले कालोबजारी गर्छ, जसले ठगी गर्छ, जसले किर्ते गर्छ। ती सबैलाई कानुनको दायरामा ल्याउने र कारवाही गरी छाड्ने जो नीति हामीले राज्यको क्षेत्रमा अपनाएका छौँ अब पार्टीको सम्बन्धमा पनि त्यही लागू हुन्छ।’