बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिन श्रीमतीको हत्या

१ भाद्र २०८०, शुक्रबार १०:५२

काठमाडौं, १ भदौ– श्रीमतीको हत्या गरी बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने एकसहित तीनजना पक्राउ परेका छन्।

श्रीमतीको हत्या गर्ने बारा कलैया उपमहानगरपालिका–२६ का नाथु देवान पक्राउ परेका हुन् । देवानसँगै श्रीमतीको मृत्यु भए बीमाबाट मोटो रकम आउने भन्दै उनलाई उक्साएको आरोमा एसियन लाइफ इन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अन्सारी पनि पक्राउ परेका हुन् । यस्तै अर्का एकजनाको भने नाम खुलेको छैन ।

देवानले अन्दाजी ४० वर्षीया पत्नी हजरा खातुनको नाममा एशियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयामा ५० लाख रुपैयाँको जीवन बीमा गराएका थिए ।

गत वर्ष भदौमा हजराको मृत्यु भएको थियो । बीमा अभिकर्ता अन्सारीमार्फत उनले श्रीमती खातुनको नाममा २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५–२५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा गराएका थिए ।

हजराको गतवर्ष भदौमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भनिएको थियो । सवारी दुर्घटनामा मृत्यु भएको भनी आवश्यक कागजात बनाएर उनले बीमा दावी गरेपछि २०८० साल असारमा बीमा कम्पनीले देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ क्षतिपूर्ति भुक्तानी गरेको थियो ।

देवानले बीमाबाट रकम बुझिसकेपछि देवान पत्नी हजराको मृत्यु शंकास्पद भएको सूचना पाएको प्रहरीले देवानलाई सोही समयदेखि निगरानीमा राखेको थियो ।

देवानले श्रीमतीको आफूले नै हत्या गरेर दुर्घटनाको नाटक गरेर बीमा कम्पनीबाट रकम निकालेको भन्दै हिँडेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले घाँटीमा सलले बेरेर श्रीमतीको हत्या गरेका थिए ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिनकै लागि श्रीमतीको हत्या गरिएको पुष्टि भएको बताए ।