२६ वर्षीय बुहारी कुट्ने ५३ वर्षीय भर्थरी चौधरी पक्राउ

३२ श्रावण २०८०, बिहीबार १७:५३

काठमाडौं, ३२ साउन– बर्दियामा बुहारी कुट्ने ससुरा पक्राउ परेका छन्। आज (बिहीबार) बिहान सार्वजनिक स्थलमै बुहारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

सोही आधारमा अनुसन्धान गर्दा घटना यथार्थ थाहा भएकोपछि नगरपालिका– ११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
उनले बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सडकमा पुर्‍याएका थिए। बुहारीलाई हात र लात्तीले बेहोस हुने गरी कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।

कुटपिट नगर भन्दै श्रीमतीलगायत स्थानीय महिलाले रोक्ने प्रयास गरे पनि मदिरा पिएका उनले अरू महिलामाथि पनि आक्रमणको प्रयास गरेका थिए।

प्रमिलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन्। यसअघि पनि उनले मदिरा पिएर कुटपिट गर्ने गरेको प्रमिलाले बताइन्। उनले भनिन्, ‘मेरो शरीरमा निकै चोट लागेकाले दुखाइ भइरहेको छ, कपाल लुछ्दै लात्तीले हिर्काउँदै घरबाहिर ल्याएर कुटपिट गर्नुभयो।’

इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक सुधीर खड्काले चौधरीले मदिरा पिएर बुहारीमाथि निर्घात कुटपिट गरेको बताए।