आरजु राणाको प्रश्न: लम्पी स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो ?

३२ श्रावण २०८०, बिहीबार १५:३३


काठमाण्डौ, ३२ साउन– कांग्रेसकी सांसद आरजु राणा देउवाले पशु चौपायमा संक्रमण बढिरहेको लम्पी स्किन रोग मानिसमा सर्ने जोखिम बढेको बताएकी छन ।

आज (बिहिबार) प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन ।

उनले धेरै रोगहरू पशुबाट मानिसमा पनि सर्ने भएकोले लम्पी स्किनबाट मानिसमा पनि जोखिम बढेकोले यसबारे अध्ययन हुनु आवाश्यक रहेको बताएकी छन ।

उनले भनिन, ‘यो त झिंगाबाट, लामखुट्टेबाट पनि सर्ने रहेछ । डर त मलाई के लाग्यो भने यो त मान्छेमा पनि सर्छ कि क्या हो रु किनभने धेरै रोगहरू वातावरण परिवर्तनका कारण मान्छेमा पनि सर्ने गरेको छ ।

यसबारेमा अनुसन्धान हुन जरूरी छ ।’ मन्त्रीले तथ्याङ्क दिएपछि यो रोग संक्रमणको अवस्था भयावह पाइएको बताउँदै उनले आफूले तराईमा संक्रमण धेरै होला भन्ने सोचे पनि पहाडी क्षेत्र र सुदूरपश्चिममा धेरै रहेको पाइएको बताएकी छन ।

उनले जलवायु परिवर्तनका कारण अरू रोग पनि आउन सक्छन् भनेर अनुसन्धान गर्न सरकारको कार्यक्रम छ कि छैन भनेर प्रश्न समेत गरिन ।