काठठमाडडौं, ३२ साउन– नेकपा (एमाले) को सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको फोटो मात्रै प्रयोग गरिने भएको छ ।
पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अरू फोटो प्रयोग नगर्ने निर्णय गरिएको एमाले उपमहासचिव विष्णु रिमालले बताएका छन् । नेता रिमालले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।
सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी निर्णय परिपत्रमार्फत पठाइने उनले उल्लेख गरेका छन् ।
रिमालका अनुसार कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अरू फोटो प्रयोग नगर्ने निर्णय गरिएको हो । यस्तै, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथिलगायत व्यक्तिलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउन पार्टीपंक्तिलाई निर्देशन दिइने रिमालले बताए।
आसनग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने, ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने नीति एमालेले लिएको छ । एमाले अध्यक्ष ओलीले पनि आसनग्रहणलगायत विषयमा निर्णय गरिएको बुधबार (हिजा) सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।
