मेसीसँगै जोसेफ मार्टिनेज, जोर्दी अल्वा र डेविड रुइजले गरे गोल

३१ श्रावण २०८०, बुधबार ०८:३४

काठमाडौं, ३१ साउन– कप्तान लिओनल मेसीले आफ्नो लय कायम राख्दै लगातार छैटौं खेलमा गोल गर्दा उनको टिम इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार (आज) बिहान भएको सेमिफाइनलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ४–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

इन्टर मियामीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । चेस्टरस्थित सुबरु पार्कमा भएको खेलमा इन्टर मियामीका लागि मेसीसँगै जोसेफ मार्टिनेज, जोर्दी अल्वा र डेविड रुइजले गोल गरे ।

फिलाडेल्फियाका लागि अलेजान्द्र बेडयाले एक गोल फर्काए । यस्तै सिजन अमेरिकन क्लब पुगेका मेसीले लिग कपमा खेलेका ६ वटै खेलमा लगातार गोल गरेका हुन् । उनले ६ खेलमा ९ गोल गरिसकेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।