बनेपामा सवारी दुर्घटना, एक जनाको मृत्यु

३० श्रावण २०८०, मंगलवार १३:२५

काभ्रे, ३० साउन, काभ्रेको बनेपास्थित सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा नगरपालिका–१३ स्थित भैसीपार्टीमा सवारी दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–३ बस्ने वर्ष–२१ का अभिषेक न्यौपाने रहेको प्रहरीले बताएको छ । उनको उपचारको क्रममा १०ः५५ बजेको समयमा मृत्यु भएको प्रहरीले बताएको छ ।

मंगलबार बिहान १०:२० बजेको समयमा बनेपा बाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित पटिएको र उक्त मोटरसाइकलमा सवार पुरुष विपरित दिशाबाट आउँदै गरेको बा. प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको मुनी छिर्दा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईत भएका न्यौपानेको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उक्त ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।