उत्तर कोरियाको परमाणु क्षमता अमेरिकाको सैन्य क्षमता जति नै भएको किम जोङले गरे दावी

३१ भाद्र २०७४, शनिबार ०३:०६

भदौ ३१, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देश परमाणु हतियार विकासको लक्ष्यमा पुगेको दाबी गरेका छन् ।

 

उत्तर कोरियाको परमाणु क्षमता अमेरिकाको सैन्य क्षमता जत्ति नै बनाउने लक्ष्य रहेकोमा त्यो पूरा भएको नेता किमले बताएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले जनाएको छ । उत्तर कोरियाले जापानको माथिबाट मिसाइल प्रहार गरेपछि नेता किमको यस्तो भनाई आएको हो । नेता किमले विश्वका ठूला देशले आफ्नो देशमाथि असिमित प्रतिबन्ध लगाउँदा पनि आफूहरुले परमाणु हतियारको लक्ष्य पूरा गरेको बताएको केसिएनएले उल्लेख गरेको छ । आफ्नो देशको लक्ष्य अमेरिकाको सैन्य शक्ति बराबरको परमाणु क्षमता बनाउने रहेको र त्यसमा आफूहरु सफल भएको नेता किमको भनाइ छ ।

 

शुक्रबार परीक्षण गरिएको मिसाइल बढी दूरीमा मार हान्न सक्ने अहिलेसम्मकै प्रभावकारी मिसाइल रहेको दाबी गरिएको छ । उत्तर कोरियाले दुई हप्ताअघि पनि जापानको माथिबाट मिसाइल आक्रमण गरेको थियो । त्यसपछि उसले हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेको थियो । संयुक्त राष्ट्र संघले त्यसको प्रतिक्रिया स्वरुप उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा पारेको थियो । तर प्रतिबन्ध कडा पार्ने निर्णय भएको केही दिनमा नै उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको हो ।(एजेन्सी)