धरानमा १० हजार नाघे डेंगु संक्रमित, ११ जनाको मृत्यु

२९ श्रावण २०८०, सोमबार १५:४८

विराटनगर, २९ साउन– धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षदेखि ८४ वर्षसम्मका छन् । मृतक ११ जनामध्ये एकजना उदयपुरका छन् । बाँकी १० जना धरानका हुन् ।

स्वास्थ्य महाशाखा प्रमुख मेहताले दिएको जानकारी अनुसार साउन १७ गते धरान १५ की ४६ वर्षीया एक महिला र साउन १८ गते धरान ११ का २१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुको मृत्युको जानकारी भने १० दिनपछि मात्रै उपमहानगरलाई जानकारी भएको थियो ।

धरानमा डेङ्गुका कारण जेठ २३ गते ३० वर्षीय महिला, असार १५ गते ४०, वर्षीय महिला, साउन २ गते ७९ वर्षीय पुरुष र ८४ वर्षीय महिला, साउन ३ गते ५३ वर्षीय महिला, साउन ७ गते ५६ वर्षीय पुरुष, १० गते २९ वर्षीय महिला र साउन ११ गते १० वर्षीय बालिकाको मृत्यु भएको थियो ।

धरानमा घर–घरमा डेंगु संक्रमित छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् । संक्रमितको उपचारका लागि वडा कार्यालयहरुमा पनि बिरामीलाई राख्ने गरिएको छ । सभागृह र उद्योग वाणिज्य संघमा पनि संक्रमितलाई राखेर उपचार भइरहेको मेहताले जानकारी दिए ।