काठमाडौं,२९ साउन – सय किलो सुन तस्करी प्रकरणमा नाम मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराले आफूहरू राज्यले गरिरहेको अनुसन्धानलाई सघाउन तयार रहेको बताएका छन् ।
झुटा आरोप लगाएर जबर्जस्ती आरोप पुष्टि गराउन खोज्ने कार्य भइरहेको भन्दै उनले भर्त्सना पनि गरेका छन् । आज सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै उनले सञ्चारमाध्यमहरूलाई न्यायालय नबन्न पनि आग्रह गरेका छन् । उनले सुन तस्करसँग आफूहरूले बारम्बार संवाद गरेको कुरा घुमाउरो पारामा स्वीकार भने गरेका छन् ।
कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो, राहुलले भनेका छन् ।
महरा बाबुछोराले सुन तस्करीमा जोडिएका अभियुक्तहरूसँग बारम्बार फोन संवाद गरेको खबर अखबारहरूमा आएका छन् । राहुलले सो प्रकरणमा दोषी देखिए सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।
राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रस्ट पारेका छौँ र प्रमाणित देखिए कानुनबमोजिम भागिदार हुनेछौँ, उनले भनेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, “हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं।
सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ ।
हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो।
राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ । २०८०।०४।२९”
